सुर्खेतमा निषेधाज्ञाको अवधि एक हप्ता थप

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञाको अवधि एक हप्ता थपेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि फेरि निषेधाज्ञा थप गरेको हो ।

कोरोना भाइरस सङ्क्रमण अपेक्षित रूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

सुर्खेत प्रशासनले औषधि पसलहरू २४ सै घण्टा खुला गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका लागि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म खुला गरेको छ । त्यस्तै खाद्यान्नलगायत अन्य पसल बिहान ८ः०० देखि बेलुका ७ः०० बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

उहाँका अनुसार होटल तथा रेष्टुरेण्टमा कुल क्षमताको ५० प्रतिशत नबढ्ने गरि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुका साथै भीडभाड हुन नदिएर सञ्चालन गर्न सकिने र सरकारी तथा सार्वजनिक निकायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर खोल्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सभा, सेमिनार, गोष्ठी, दोहोरी नाच, भोजभतेर, खेलकुद, स्वीमिङ, क्लब, देउडा, मेलाजस्ता गतिविधि गर्न पूर्ण निषेध गरेको छ । प्रशासनको कडाइले पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको जनाइएको छ ।