कर्णाली सरकारले खेलाडीलाई प्रोत्साहन स्वरूप दिने पुरस्कारमा ढिलाइ

सुर्खेत । कर्णाली प्रदेश सरकारले गतबर्ष ०७८ साल पौष १८ गते कर्णालीका खेलाडीको हौसला र प्रोत्साहनका लागि विभिन्न प्रतियोगितामा विजयी हुने खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । प्रदेश खेलकुद परिषद्को बैठकले खेलाडीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने सिफारिस ग¥यो ।

पूर्वमुख्यमन्त्री तथा तत्कालिन समयमा प्रदेश खेलकुद विकास परिषद्का संरक्षक रहेका जीवनबहादुर शाही नेतृत्वको क्याविनेटको अन्तिम बैठकले खेलाडीलाई पुरस्कारको रकम दिने निर्णय गरेको हो । पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई कर्णाली प्रदेश सरकारले २ लाख दिने घोषणा गरेको थियो ।

यस्तै राष्ट्रिय प्रतियोगितामा रजत पदक विजेतालाई एक लाख ५० हजार, कांस्य पदक विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिए ।

तर निर्णय भएको चार महिना बित्न लाग्दासमेत प्रदेश सरकारले यसलाई कार्यान्व्यन भने गरेको छैन। सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनार भन्छन्, ‘पहिला तयारी थिएन, बजेटको व्यवस्थापन पनि थिएन, कति खेल खेलाउने, खेलाडीलाई केकस्ता पुरस्कारको व्यवस्था गर्ने केही तयारी नभएको हुँदा ढिलाइ भएको हो ।’

नवौँ राष्ट्रिय खेलकुदमा एकल कातामा कास्य र ४५ किलोग्राम कुमितेमा कास्य पदक जितेकी एलिसा रास्कोटी मगर प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने भन्दा खुसी लागेको बताईन् । ‘आगामी दिनमा खेलकुदलाई राम्रो र मेहनत गरेर अगाडि जान्छु, यो वर्ष २ लाख पुरस्कार जितेको छु भने आउने दिनमा त्यो भन्दा पनि धेरै पुरस्कार पाउने गरेर लागि पर्नेछु ।’

त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नान् छवान अलराण्डरमा स्वर्ण पदक जितेका दीपक हमालले सरकारले दिने भनेको पुरस्कार समयमा दिएको भए राम्रो हुने बताए । ‘प्रदेश सरकारले निर्णय गरेको सो पुरस्कारले खेलाडीहरूको हौसला त बढेको छ, तर चार महिना बितिकस्दा पनि समयमा पुरस्कार पाउन सकेको छैनौँ ।’

अघिल्लो सरकारले घोषणा गरेको पुरस्कार फागुनको अन्तिम सातासम्म दिईने सामाजिक विकास मन्त्री टेकराज पछाईले जानकारी दिए । ‘खेलाडीलाई दिने पुरस्कार अघिल्लो सरकारले बजेटको सुनिश्चितता नगरेर हचुवा तालमा निर्णय गर्दा समयमा बजेट व्यवस्थापन गर्न गाह्रो भएको हो, अब हामी यस निर्णयलाई कार्यविधि, मापदण्ड बनाएर आउने दिनमा अगाडि बढ्ने छौँ।’ मन्त्री पछाईले भने।

खेलाडीलाई पुरस्कार दिने निर्णय कार्यान्वयन गर्न कुनै ठाउँमा बाँकी रहेको बजेटलाई व्यवस्थापन गरिने सचिव सुनारले बताए। उनले कर्णाली प्रदेश सरकारले पनि खेलाडीलाई हौसला दिनुपर्ने महसुश गरी पुरस्कारको निर्णय गरेको बताए।

‘अहिले त खेलकुदमा बुझेको युवा मन्त्री पनि आउनुभएको छ, दशौँ राष्ट्रिय खेलकुदको जिम्मेवारी हामीले बोकेर ल्याइसकेका छौँ, यसलाई पनि सफल बनाउनु छ,’ उनले भने, ‘अब कर्णाली प्रदेशले आफ्नो क्षमता पनि देखाउने छ, कर्णाली प्रदेश सबै कुरामा कमजोर छैन भन्ने कुरा आगामी राष्ट्रिय प्रतियोगिताबाट देखिन्छ।’

कर्णालीमा आयोजना गर्ने निर्णय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई अवसर र चुनौती दुवै थपेको सचिव सुनारको भनाई छ। खेलकुदलाई अगाडि राखेर नीति, कार्यविधि, मापदण्ड र कार्यक्रम बनाउँदा बजेटको उचित व्यवस्थापन गरिने उनले बताए ।

पुरस्कार विजेताको विवरण :