कृष्ण जन्माष्टमी र तीजमा भेला हुन राेक

सुर्खेत । नजिकीदै गरेको दुई ठूला पर्व कृष्ण जन्माष्टमी र तीजमा अत्यवाश्यक काम बाहेक अन्य समयमा भेला हुन स्थानीय प्रशासनले रोक लगाएको छ । अनावश्यक भीडभाडले कोरोना संक्रमण झन बढ्ने जोखिम रहेकाले भेला हुन रोक गरेको प्रशासनले जनाएको हो ।

‘कोरोना अघिको जस्तै जात्रा र नाचगान गर्न नदिने यसअघि नै निर्णय गरिसकेका छौं,’ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘दुई ठूला पर्व नजिकीदै गइरहेकोले अब सेचतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ कृष्ण जन्माष्टमी २५ जना बाहेक बढी भेला हुन नदिनेगरी प्रहरी खटाइने प्रजिअ रिजाल बताउँछन् ।

तर उनीहरुले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर गर्नुपर्ने प्रशासनको भनाई छ । कोरोना नियन्त्रण गर्न विभिन्न समितिहरु रहेकाले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न भनिएको प्रशासनले जनाएको छ । तीजमा पनि महिला दिदीबहिनीहरुलाई घरमै बसेर तीज मनाउन प्रजिअ रिजालले आग्रह गरेका छन् । ‘कोरोना संक्रमण फैलिन नदिनु हामी सबैको दायित्व हो,’ प्रजिअ रिजालले भने ।