मालपोतमा भोलिदेखि सबै सेवा सञ्चालन

सुर्खेत । कर्मचारीमा कोभिड १९ संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।

यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलिदेखि सेवा सञ्चालन गर्ने बताए ।

कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो ।

मालपोत कार्यालयले आइतबार–सोमबार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका, मङ्गलबार–बुधबार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीबार शुक्रबार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ । गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ ।