‘आलु जस्तो केटी’ सार्वजनिक गरेकी प्रीति भन्छिन्–‘विवादकै लागि गाउँदिनँ’

गायिका प्रीति आले र गायक पवन रानाको स्वरमा दुई वर्ष अगाडि सार्वजनिक भएको गीत ‘भुत्रो माया जाल’ले निकै आलोचना खेप्यो । अहिले पनि यो गीतलाई लिएर आलोचना भईरहेको हुन्छ । सोही गीतका गायक–गायिका पवन र प्रीतिले ‘भुत्रो माया जाल भाग २’ का रुपमा ‘आलु जस्तो केटी’बोलको गीत सार्वजनिक गरेका छन् ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘आलु जस्तो केटी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा गायिका प्रीतिले आफूले समय–समयमा फरक–फरक शैलीका गीत गाउन रुचाउने भन्दै यसपटक पनि केही फरक गीत सार्वजनिक गरेको बताइन् ।

आफूले लोकदोहोरी बाहेक पप, रक खालका गीतहरु समेत गाउने गरेको हुनाले गीत अनुसार बुझिदिन दर्शक एवं स्रोताहरुलाई आग्रह गरिन् । ‘पपलाई पप गीतकै रुपमा हेरिदिनुपर्यो । लोकगीतलाई सोही रुपमा हेरिदिनुपर्यो । पप गीतमा, ¥याप गीतमा त कस्तो–कस्तो शब्द प्रयोग भईरहेको हुन्छ’ प्रीति भन्छिन्, ‘लोक गीत त्यस्तो ल्याएँ भने गाली गर्न पाउनुभयो । तर, लोकदोहोरी गाउने गायिका हो भन्दैमा मैले पप गीत गाउँदा सानोतिनो कुरालाई बढी कोट्याईरहेको हो कि जस्तो लाग्छ ।’

उनले ‘कन्ट्रोभर्सी’मा आउनका लागि भनेर गीत नल्याउने गरेको र ‘आलु जस्तो केटी’ पनि त्यसरी नल्याएको बताईन् । उनले भनिन्,–‘भिडियोमा दृश्य पनि आलोचित हुने खालको छैनन् । जता पनि मिल्ने, जता पनि डुल्ने, जोसँग घुलमिल हुने हिसावले अर्थाइएको छ । अर्थ लगाएअनुसार आलु जे मा पनि मिल्ने तरकारी भएको हुनाले यो शब्द राखिएको हो ।’

प्रीतिले सुरुवातमा ‘आलु जस्तो…’मात्र नाम राख्न खोजेको बताउँदै भनिन्–‘फेरि, दुर्गेशजीको ‘आलु जस्तो गायक’ सार्वजनिक भैसकेकाले धेरैले ‘आलु जस्तो’ पछि गायक, गायिका वा अरु केही वुझ्नु होला भन्ने लाग्यो । यसैले, ‘आलु जस्तो’ पछि केटी थपेका हौं ।’

महिला पुरुषले एकअर्कामा गरिएको दोषारोपणको विषयमा गीत बनाईएको छ । बिशुद्ध मनोरञ्जनका लागि युवापुस्तालाई लक्षित गरेर गीत ल्याईएको प्रीतिको भनाई छ । गीतका शब्द पनि प्रीति आलेले नै लेखेकी हुन् भने संगीत पवन रानाको रहेको छ ।