डाक्टर हरी सापकोटाको आदर्शमा हिड्न सक्ने डाक्टर बन्नु पर्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पतालमा कार्यरत सबै डाक्टरहरुले स्वर्गीय प्रा.डा. हरी सापकोटाको आदर्शमा हिड्ने हिक्मत गर्नु पर्ने बताएका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को बेला आफ्नो जीवनको कुनै प्रबाहा नगरी अरुलाई बचाउन खोज्दा खोज्दै डाक्टर सापकोटा अल्पाआयुमै मृत्युको सिकार हुन पुगेको विगतलाई स्मरण गर्दै मुख्यमन्त्री शाहीले प्रा.डा. सापकोटाको मृत्युले कर्णालीलाई ठुलो क्षति पुगेको बताए ।

शुक्रवार कर्णाली प्रदेश अस्पतालले प्रा.डा. सापकोटाको सम्झनामा बार्षिक पुण्यतिथिको अबसर पारेर सापकोटाले चिकित्सा क्षेत्रबाट कर्णालीमा पु¥याएको योगदानको उच्च कदर स्वरुप अस्पतालले स्थापना गरेको स्वर्गीय सापकोटाको अर्ध कदको प्रतिमा मुख्यमन्त्री शाहीले अनावरण गरेका थिए ।

डाक्टर सापकोटा आफ्नो लागि भन्दा कर्णालीको लागि जन्मीएको भन्दै मुख्यमन्त्री शाहीले डाक्टर सापकोटाले सबैभन्दा ठुलो सम्पति जनताको माया कमाएकोले कर्णालीका प्रत्येक नागरिकहरुले डाक्टर सापकोटाको अहिले पनि अभाब महसुस गरेको बताए ।

स्वर्गीय सापकोटाका सहकर्मी बरिष्ठ जनरल सर्जन डाक्टर गणेश थापाले स्वर्गीय सापकोटाबाट आफुले धेरै कुरा सिकेको बताए डाक्टर सापकोटाले बिरामीलाई गर्ने माया सबैभन्दा लोभलाग्दो व्यवाहार भएकोले अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले स्वर्गीय सापकोटाको त्यो व्यवाहार अनुसरण गरे उहाँ प्रति सच्चा श्राद्धान्जली हुने बताए ।

प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्काले स्वर्गीय डाक्टर सापकोटाले आफु खुसि हुने भन्दा कर्णालीलाई खुसि बनाउदा बनाउदै सबैलाई छाडेर गएको स्मरण गरे । निर्देशक खड्काले भने, ‘डाक्टर सापकोटा कर्णालीमा आउने बेला सुगम क्षेत्रका मेडिकल अफिसर पनि कर्णालीमा आउन नमानिरहेको बेला स्वर्गीय सापकोटाले एम.डी.गरेर कर्णालीबाट आफ्नो जागिरको सुरुवात गरे,।’

स्वर्गीय सापकोटाले सुर्खेत जिल्ला अस्पताल हुदै मध्यपश्चिमाञ्चल क्षत्रिय अस्पतालको नेतृत्व समेत समालि सकेका थिए । सुर्खेत जिल्लामा बिजुलि बत्ति नहुदा खेरी मैन बत्ति बालेर भए पनि कैयौका जटिल अप्रेशन गरेर कर्णालीका नागरिकको ज्यान बचाएको स्वर्गीय डाक्टर सापकोटाका सहकर्मीले बताउने गरेका छन् ।

स्वर्गीय डाक्टर सापकोटाका छोरा डा. बसन्त सापकोटाले आफ्नो बुवाको सपना पुरा गर्न उहाँको बाटोमा निरन्तर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।

कर्णाली प्रदेश अस्पतालले स्वर्गीय डाक्टर सापकोटाको सम्झनामा अस्तालको अर्थोपेडिक वार्डलाई डा.हरी सापकोटा अर्थोपेडिक वार्डको रुपमा नामाकरण गरको छ ।