आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै

काठमाडौं । सरकारले आजदेखि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ ।

६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ । आज खान छुटेकालाई भोलि खुवाउन सकिने छ ।

६ महीनादेखि ५९ महीनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि २०५६ सादेखि खुवाउन थालिएको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।