राष्ट्रिय जनगणना आजदेखि सुरु, सही विवरण टिपाउन प्रदेशवासीमा  मुख्यमन्त्री शाहिकाे अनुरोध

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गरेका छन् ।

सही तथ्याङ्कले नै प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने भन्दै घर-घरमा आउने गणकहरुलाई सही विवरण टिपाउन उनले अनुरोध गरेका हुन ।

आजदेखि राष्ट्रिय जनगणना २०७८ सुरु हुँदैछ । मंसिर ९ गतेसम्म संचालन हुने जनगणनामा प्रत्येक घर-घरमा पुगेर ८० वटा प्रश्न सोधिने छन् । यस पटकको जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ ।

मुख्यमन्त्री शाहीले जनगणनाबाट आउने सही तथ्याङ्कको आधार गराएर सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर सबैले गणकहरुलाई सहयोग गर्नुपर्ने बताए । ‘जनगणनाबाट आउने सही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा फरक क्षमता भएका व्यक्तिहरुका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने गर्दछ’ मुख्यमन्त्री शाहीले बुधबार जारी गरेको अपिलमा उल्लेख गरिएको छ, ‘त्यसैले आफुले टिपाएको सही तथ्याङ्कले आफ्नै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने बुझ्नु पर्दछ ।