लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाण्डाै । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदै छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरेको गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ ।