आर्थिक मामिला तथा योजना मन्त्रालयमा विन्दमान विष्टलाई नियुक्त गरिदै

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट मंगलबार (आज) एकजना मन्त्री सरकारमा सहभागी हुने भएका छन् । त्यसका लागि मंगलबार (आज) दिउँसो माओवादी केन्द्र संसदीय दलको बैठक बसेर छलफल भएको छ ।

प्रदेश सभा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित सांसद विन्दमान विष्टलाई भने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागिएको हाे ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टका अनुसार सांसद विष्टलाई सरकारमा पठाइने निर्णय भएको हो ।

विष्ट यसअघि पनि मन्त्रीका लागि सिफारिसमा परेका थिए । तर अन्तिम समयमा उनको नाम हटाइएको थियो । विष्टलाई आजै साँझ साढे सात बजे सपथ ग्रहण कार्यक्रम रहेको छ ।