रुकुम पश्चिममा एक वर्षमा करिब १८ करोड रुपैयाँको पशु तथा कृषि उपज

रुकुम । रुकुम पश्चिममा एक वर्षमा करिब १८ करोड रुपैयाँको पशु तथा कृषि उपज जिल्ला बाहिर विक्री भएको छ । एक वर्षमा जिल्लामा खसीबोका, कुखुरा, दूध, माछाका भुरा, बंगुर, भैंसीलगायतबाट १८ करोड ११ लाख ८१ हजार रुपैयाँ भित्रिएको हो ।

जिल्लामा सबैभन्दा बढी खसीबोकाबाट १० करोड ६२ लाख रुपैयाँ भित्रिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । गत वर्षको मंसिरदेखि यो वर्षको कात्तिकसम्म जिल्लाबाट ६ हजार ४ सय ३९ वटा खसीबोका काठमाडौं, सल्यान, डोल्पालगायत जिल्लामा पुगेका छन् ।

त्यस्तै, ६ करोड २० लाख रुपैयाँको ९९ हजार २ सय ४७ वटा कुखुरा विभिन्न जिल्लामा गएको छ । ५९ हजार ३ सय ४७ लिटर दूध बाहिर पठाउँदा ४७ लाख ४७ हजार रुपैयाँ आम्दानी भएको कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले बताए । रेन्वोट्राउट माछाका भुराबाट जिल्लाका कृषकले १ लाख ८५ हजार र अन्य माछाका भुराबाट ३ लाख आम्दानी गरेका छन् । ४३ हजार माछाका भुरा जाजरकोट, सल्यान र रुकुम पूर्वमा गएको छ ।

त्यस्तै, १ सय ७९ वटा बंगुर र १ सय १३ वटा भैंसी जिल्ला बाहिर पठाइएको उनले जानकारी दिए । सहकारी, समूह तथा व्यक्तिगत प्रयासमा कृषि तथा पशु उपजहरू जिल्ला बाहिर पठाइएको शर्माले बताए ।