१२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने

काठमाडौं । नेपाल सरकारले आइतबारदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप दिने भएको हो। १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पुस १४ सम्म खोप दिइनेछ।

खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने मन्त्रालयले जनाएको छ। सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४ सय ८ रहेको छ।

यस्तै सरकारले पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने मन्त्रालयले जनाएको छ। फाइजरको दोस्रो डोज माघ ४ देखि १३ सम्म दिइनेछ। न्यून तापक्रम भण्डारण क्षमता भएका जिल्लामा फाइजर खोप दिइने छ। फाइजर माइनस ७० डिग्री सेल्सियस र मोडर्ना माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिन्छ ।

कर्णालीका ९ जिल्ला: डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा खोप दिइने छ भने यस्तै फाइजर खोप सुर्खेतमा दिइने छ ।