प्रमुख प्रतिपक्षी दलका नेता कंडेलको भाषण सुन्दा गर्वले छाति फुलेको छ :मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पहिलो पटक प्रमुख प्रतिपक्षी दलको उपस्थितिमा आज सदनलाई सम्वोधन गरेका छन् । सकेसम्म प्रमुख प्रतिपक्षी दल एमालेको प्रशंसा गर्नमै बढि केन्द्रीत भएका मुख्यमन्त्री शाहीले एमाले नेता यामलाल कंडेलले आजै सदनमा दिएको मन्तब्यले आफ्नो छाति गर्वले फुलेको प्रतिक्रिया दिएका हुन ।

‘हिजो म प्रमुख प्रतिपक्षी दलको सिटमा थिएँ उहाँहरु सदनको सत्तापक्षको लाईनमा हुनुहुन्थ्यो । आज म हिजो उहाँहरु भएको स्थानमा आएको छु, उहाँहरु म बसेको स्थानमा जानु भएको छ । यो आलोपालो हुँदो रहेछ ।’ उनले भने, ‘भोली के हुन्छ कसैलाई थाहा छैन । राज्यसत्ता, राजनीति भनेको यहि नै हो । अनि त्हि मान्छे माननीय हुन्छ, अर्को दिन देखि त्यहि माननीय मन्त्री हुन्छ त्यसपछि त्यहि मन्त्री अर्को दिन माननीय मात्रै हुन्छ । हाम्रो संसदीय व्यवस्थामा यस्तो भइरहन्छ । त्यसैले हामी आज जुन कुर्सीमा बसेका छौं त्यो आजिवन होइन ।’

उनले कर्णालीमा चौविस ओटा निर्वाचन क्षेत्र रहेको बताउँदै प्रदेश सभामा रहेका ४० जना (हाल ३५ रहेका) कर्णालीका १८ लाख जनताको मुख, कान भएको बताए । कर्णालीका जनताका लागि बोलिदिने, काम गरिदिने र उहाँहरुको प्रतिनिधित्व गर्ने काम चालिस जनाको भएको उनको प्रष्टोक्ति थियो । त्यहि कारण सबै एकजुट भएर अगाडी बढनुको विकल्प नभएको उनको भनाई थियो ।

‘पिछडिएको कर्णालीलाई कसरी राम्रो बनाउने भन्ने दायित्व हामी सबैको हो जस्तो मलाई लाग्छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘वास्तवमा प्रमुख प्रतिपक्ष दलका नेताले सुशासनका बारेमा, हाम्रा बजेटमा भएका गलत कुराका बारेमा कसरी अघि बढने भनेर चासो राख्नु भएको छ । यो कुरा उहाँबाट सुन्दा मेरो छाति फुलेको छ ।’

उनले अर्थ विधेयक अन्य विधेयक जस्तो नभएको बताउँदै सकेसम्म प्रमुख प्रतिपक्षी दलकै साथ लिएर सक्ने जति सुधार गर्न सरकार कटिबद्ध भएको बताए । ‘अरु विधेयकमा प्रतिस्थापन गर्न सकिन्छ । जब पास भएर जान्छ एलएमविएसमा दर्ता भएर जान्छ त्यसपछि हामीले अहिलेको लागि केहि समयसम्म चलाउन मिल्दैन ।’ उनले भने, ‘अविश्वास हुँदा हुँदै विश्वास गरिरहेछौं भन्ने होइन, विश्वासमाथि अविश्वास नगरिदिनुहुनका लागि प्रदेश सभा सदस्यहरुलाई आव्हान गर्दछु ।’ उनले सबै एउटै डुंगामा यात्रा गरिरहेको बताउँदै यसलाई अगाडी बढाएर अघि बढनुपर्नेमा जोड दिए ।

कानूनले वर्जित नगरेसम्मका लागि सरकार लचकताका साथ अघि बढने बताउँदै प्रमुख प्रतिपक्षले निःस्वार्थ ढंगले सुशासन कायम गर्नका लागि बोलेको भन्दै प्रशंसा समेत गरे । सुशासन कायम गर्ने नाममा सरकारले कुशासनको बाटोमा लाग्न नहुने बताउँदै आफू त्यस कुरामा सचेत र सजग रहेको उनको भनाई थियो ।

कुर्सीमा बस्ने वित्तिकै मात्तिहाल्ने, बोल्न पाएको भए बोलिहाल्ने प्रवृत्ति बढिरहेको बताउँदै स्वमुल्यांकन गर्नुपर्ने अवस्था सिर्जना भएको मुख्यमन्त्री शाहीको भनाई थियो । मेरो क्षेत्रमा के भइरहेको छ, दशै जिल्ला मेरो क्षेत्र हो भन्ने धारणा आउन जरुरी छ ।’ उनले भने, ‘मेरो गोरुको बाह्रै टक्का भन्ने पक्षमा सरकार छैन । प्रमुख प्रतिपक्षले उठाएका कुराहरु, कानुनले दिएसम्म मिलेर कार्यान्वयन गर्न तयार छ ।’

मुख्यमन्त्री शाहीले सदनमा प्रमुख प्रतिपक्षी दलका नेता कंडेलले उठाएका कुराको जवाफ दिन करिब आधा घण्टा खर्चेका हुन । कर्णाली प्रदेश सभाको अर्को वैठक भोली दिउसो एक बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।