कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

सुर्खेत । कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कर्णाली प्रदेश अन्तर्गत प्रदेश अस्पतालबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा.डाक्टर डम्बर खड्काबीच हस्ताक्षर भएको हो ।

प्रदेश असपताल कालागाउँका निर्देशक प्रा.डा डम्बर खड्काले यसै आर्थिक वर्ष भित्र प्रदेश अस्पताल सुर्खेतमा मिगौला प्रत्यारोपण कार्य शुरु गर्ने र यस प्रदेश अन्तर्गत विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार गर्ने जस्ता सम्झौता भएको जानकारी दिए ।

पछिल्लो समय स्वास्थ्य सेवामा अब्बल बन्दै गएको कर्णालीको स्वास्थ्य धरोहर प्रदेश अस्पतालले थप सफलता प्राप्त गरेको छ । कर्णालीमा पहिलो पटक प्रदेश अस्पतालले अङ्ग प्रत्यारोपण सेवा सुर्खेतबाटै दिने भएको हो ।