चन्दननाथको मेयर पदमा राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी दर्ता

सुर्खेत । वैशाख १३ गते
स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनय दर्ता भएको छ । मनोनयनका लागि दुई दिनको समय तोकिएको भए पनि सोमबार मनोनयन गर्ने दलको लाम लागेको हो । सोमबार अबेरसम्म मनोनयन चलेको थियो । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजुसिंह कठायतले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।

कांग्रेसले मेयर पदको उम्मेदवारको टिकट नदिएपछि उहाँले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । मेयर पदका स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले लामो समयदेखि पार्टीमा खटिएर लाग्दासमेत अन्तिममा पाँचौँ नम्बरमा रहेका उम्मेदवारलाई मेयर पदको टिकट दिएको गुनासो गर्नु भएको छ ।

उहाँले पार्टीलाई योगदान दिने कार्यकर्ता नचिन्ने कांग्रेसको पाटी छोडेर स्वतन्त्र उम्मेदवार दिनु परेको बताउनु भएको छ । कठायतले ०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पदको टिकट आफूलाई दिने भनेपनि अन्तिममा कान्तिका सेजुवाललाई दिइएको स्मरण गर्नु भएको छ । त्यस्तै यो पटक पनि त्यही भएकाले आफुले स्वतन्त्र दिनु परेको उहाँको भनाई छ ।