पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ – शेखर कोइराला

काठमाडौं । स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइारालाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।आज एक वक्तव्य जारी गर्दै कोइरालाले भनेका टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने भनेर आफुहरुले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा कुरा उठाएको बताएका छन् । तर आफुहरुको कुरा ध्यानपूर्वक नसुनिएको उनको गुनासो छ । उनले टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न नसकेको बताएका छन् ।

उनले जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठहरु नै पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेको बताएका छन् । कोइारालाले कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएको जिकिर गरेका छन् । स्वतन्त्र उमेदवारलाई कांग्रेसको मुल प्रबाहमा फर्कन कोइारालाले आग्रह गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई पार्टीबाट निस्काशन गरेका थिए । कोइरालाले यो घटनालाई संकेत गर्दै असन्तुष्टि जनाएका छन् ।

उनले केही साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएको बताएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्ने उनको भनाई छ । निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्न उनले आह्वान गरेका छन् । स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुने उनको भनाइ छ ।