सुर्खेतका पाँच स्थानीय तहमा कांग्रेस र माओवादीबीच तालमेल

सुर्खेत ।  यहि बैशाख ३० गते आसन्न स्थानीय तहको निर्वाचन हुँदै छ । सुर्खेतका नौ वटै स्थानीय तहमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुने भएको छ भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टी भने बाहिरिएको छ । दुई पक्षबीच तीव्र विवाद भएको कांग्रेस निर्वाचनमा पराजय हुने स्थितिमा पुगेपछि माओवादीसँग तालमेल गर्न सहमत भएको हो ।

केन्द्रीय गठबन्धनको निर्देशनपछि दुई दलको बैठक शुक्रबार बसेको थियो । बैठकमा माओवादीले एक पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाउने गरी सहमति भएको छ ।माओवादीले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको उपमेयर, बराहताल र सिम्ताको उपाध्यक्ष पाउने सहमति भएको छ भने चौकुने गाउँपालिकाको अध्यक्ष पाउनेछ ।

नेपाली कांग्रेसले वीरेन्द्रनगर, भेरीगंगा, बराहताल, सिम्तामा प्रमुख पाउने भएको छ भने चौकुने गाउँपालिकामा उपाध्यक्ष पाउने भएको छ ।तर चार ओटा पालिकामा भने दुवै दलका उम्मेदवार कायमै रहेका छन् । जिल्लामा भएको सहमति अनुसार बराहताल गाउँपालिकामा नेकपा माओवादीका अध्यक्षका उम्मेदवार ईश्वरभक्त सुनारले मनोनयन फिर्ता गरेका छैनन् ।

गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका, चिङ्गाड गाउँपालिका र पञ्चपुरी नगरपालिकामा प्रमुख र उपप्रमुखमा दुवै दलका उम्मेदवारहरु कायमै रहेका छन् ।माओवादी सुर्खेत इन्चार्ज झकबहादुर मल्लका अनुसार नेकपा एसलाई लेकबेशी नगरपालिकाको उपप्रमुख दिने दुई दलबीच सहमति भएको छ । तर नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालले भने दुई दलबीच के भयो भन्ने कुनै जानकारी नभएको बताए ।नेपाली कांग्रेस सुर्खेतका सहसचिव हरि विष्टले चिंगाड, गुर्भाकोट र पञ्चपुरीमा कांग्रेसले एक्लै चुनाव जित्नसक्ने भएका कारण गठबनधन नभएको दाबी गरे ।

गठबन्धन भएका पालिकाका उम्मेदवारहरुमा वीरेन्द्रनगरबाट प्रमुखमा कांग्रेसका उपेन्द्र खड्का, उपप्रमुखमा माओवादीबाट शान्ति ढकाल, चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादीका खडक विक, उपाध्यक्ष नरबहादुर वान्तोला कांग्रेसका उम्मेदवार हुन । त्यस्तै सिम्ता गाउँपालिकाको अध्यक्ष कांग्रेसका वीरेन्द्र बहादुर रावत र उपाध्यक्षमा माओवादीका चित्रबहादुर हमाल रहेका छन् ।बराहताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भीम भण्डारी, उपाध्यक्षमा माओवादीकी भुमिसरा टमटा उम्मेदवार रहेका छन् । त्यस्तै भेरिगंगा नगरपालिकाको प्रमुखमा रामबहादुर सिंह र नन्दबहादुर कार्की रहेका छन् ।