सुर्खेतमा ६२ प्रतिशत मत खस्यो, मतपेटिका संकलनको कार्य जारी

सुर्खेत । स्थानीय तह निर्वाचन समग्रमा शान्तिपूर्ण र उत्साह पूर्वक सम्पन्न भएको छ । कुल नौ स्थानीय तह रहेको सुर्खेतमा ९९ वडा रहेका छन् । पाँच सय १३ पदका लागि दुई हजार ८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आज सम्पन्न मतदानमा जिल्लाभर करिव ६२ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान गरिएको हो ।

सुर्खेतका सबै स्थानीय तहमा शान्तिपूणर् मतदानहुँदा सिम्ता गाउँपालिकाको वडा नम्बर १ मा भने मतदान रोकिएको छ । फर्जि मतपत्र फेला परेपछि मतदान रद्द भएको हो । वर्षा र हावाहुरीका कारण दिउँसो करिव आधा घण्टा मतदान प्रभावित बनेको थियो ।निर्वाचन सम्पन्न भए पश्चात अहिले मतपेटीका संकलन गरी सम्बन्धित पालिकामा ल्याउने कार्य भई रहेको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा शान्तिपूणर् मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । १६ वडा रहेको वीरेन्द्रनगरमा मतदानको तथ्यांक संकलन भइरहेको छ ।

वीरेन्द्रनगरको मतगणनास्थल सिटी हल तोकिएको छ । पूर्वी सुर्खेतको लेकवेशी नगरपालिकामा कुल ६५ प्रतिशत मत खसेको छ । १० वडा रहेको लेकवेशी नगरपालिकामा पनि शान्तिपूणर् तवरबाट निर्वाचन सम्पन्न प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ६ वडा रहेको चिङ्गाडमा पनि शान्तिपूणर् मतदान भएको छ ।

१४ वडा रहेको गुर्भाकोट नगरपालिकामा करिव ८० प्रतिशत मत खस्दा उत्साहपूणर् वातावरणमा निर्वाचन सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकामा पनि करिव ६० प्रतिशतभन्दा बढि मत खसेको छ । भेरीगंगामा १३ वडा छन् । ६० प्रतिशत मत खसेको सिम्ता गाउँपालिकाको वडा नम्बर १ को मतदान स्थगित गरिएको छ । करिव चार सय मत खस्न बाँकी रहदा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र फेला परेपछि विवाद उत्पन्न हुँदा मतदान रोकिएको हो ।

स्थगित भएको मतदान सर्वदलिय वैठकबाट निर्वाचन कार्यालयले मतदानको मिति तोक्ने छ । सिम्तामा ८ वडा छन् । यस्तै पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा ६८ प्रतिशत मत खसेको छ । यो पालिकामा १० वडा छन् । पञ्चपुरी नगरपालिकामा ६८ प्रतिशत मत खसेको छ । पञ्चपुरीमा ११ वडा छन् । १० वडा रहेको चौकुने गाउँपालिकामा ६५ प्रतिशत मत खसेको छ । वर्षाका कारण केही समय रोकिएको मतदानमा कुनै अप्रिय घटना यो पालिकामा भएनन् ।