सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त स्थलमा पुग्न प्रयास गर्दै

काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । नेपाली सेनाको हेलिकोप्टर तारा एयरको विमान दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत रहेको बुझिएको छ । विहानै देखि सेनाको अत्याधुनिक हेलिकोप्टर खोजी कार्यमा सुरक्षाकर्मीलाई ट्रयाकिङबाट पत्ता लागेका ठाउँ नजिक पुर्याउन खटिएको थियो ।

मौसमको खराबीका कारण दुर्घटना भएको सम्भावित क्षेत्रमा पुग्न सकेको थिएन । स्थानीयवासीले ल्याङकु खोलाको मुहान क्षेत्र कुवाङ भन्ने ठाउँमा विमान भेटिएको खबर गरेपछि उद्धारका लागि खटिएको टोली त्यसैतर्फ गएको छ । उद्धारमा खटिएको टोलीका एक सुरक्षाकर्मीले जानकारी गराए अनुसार मौसम खुलेलगत्तै हेलिकोप्टर उद्धार टोली बोकेर दुर्घटनाग्रस्त ठाउँमा पुग्नेछ ।