नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सुर्खेत ।नेपाल एसबीआई बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने साउन ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ असार २२ गतेदेखि निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका रु ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

सोमध्य १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिएको छ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने कम्पनीले जनाएको छ। सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।