हुम्लाको सिमकोट गाउँपालिकाद्वारा ऊन उत्पादन गर्न किसानलाई भेडा वितरण

 हुम्ला। कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । गाउँपालिकाको पशु शाखा प्रमुख महेन्द्र शाहीका अनुसार सिमकोट–१ का जैधन भण्डारी, कुञ्ज्याक लामा र सोनाम जामो लामा तथा वडा नं २ का रुपसिंह बोहरा, धनसुर कामी, सिलदेवी दमाई, नर बोहरा, बाक्ली बोहरा, काली भण्डारी र बालकृष्ण बोहरालाई भेडा वितरण गरिएको हो ।

सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गरिन् । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा किसानलाई अनुदानमा भेडा वितरण गर्ने कार्यक्रम अघि बढाएको थियो ।