कालिकोटको तत्कालिन जिल्ला कृषि विकास कार्यालयका प्रासविरुद्ध भ्रष्टाचार मुद्दा

कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला कृषि बिकास कार्यालय कालिकोटका प्रा.स.रत्न प्रसाद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रमको उनले ३ लाख ८८ हाजर ७५० रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आर्थिक बर्ष २०७०–७१ मा जिल्ला कृषि विकास कार्यालय कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उक्त कार्यक्रममा पाण्डेले झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ । दायर गरिएको मुद्दामा उनीसँग ३ लाख ८८ हाजर ७५० रुपैयाँ बिगो दाबी गरिएको छ ।