दाङ । दाङ, झापा र चितवनबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय जनक बुढाथोकी लगायत चार जना छन् ।
उनीहरुबाट ट्रामाडोल २५२ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बुढाथोकीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापाको हल्दिबारी गाउँपालिका–४ जलथलबाट ७ ग्राम ९२० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने ३५ वर्षीय जेमिल महमदलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१० दिवान रेष्टुरेन्टबाट करिब ६४० मिलिग्राम खैरो हेरोइनसहित सोही महानगरपालिका–९ बस्ने ३५ वर्षीय रत्न बहादुर प्रजापतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
ए.के. सञ्चार । ८ भाद्र २०७९, बुधबार १४:४३