सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । आज पनि प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै छ । आज सीट बाँडफाँड टुंगो लगाउने गरी कार्यदलको बैठक बोलाइएको सचिव जोशीले जानकारी दिएका छन् । उनका अनुसार आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले चुनावी तालमेल र सीट बाँडफाँडका विषयमा छलफल गरेको थियो। सीट संख्यामा लगभग सहमति भए पनि निर्वाचन क्षेत्रका विषयमा टुंगो लगाउन बाँकी छ ।

कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाका सीट संख्यासँगै निर्वाचन क्षेत्रबारे पनि छलफल गरिरहेको छ। कुन निर्वाचन क्षेत्रमा कुन दलको उम्मेदवार उठाउने भन्ने विषयमा छलफल भएको जनाइएको छ।२०७४ सालमा पाएको मत र स्थानीय चुनावको अवस्थालाई हेरेर कुन क्षेत्रमा कुन दल बलियो छ भन्ने एकीन गर्न लागिएको छ। त्यसकै आधारमा निर्वाचन क्षेत्र बाँडफाँड गरिँदै छ।