सुर्खेत- २ कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीका पक्षमा ३४ हजार ६ सय २५ आएको छ।


उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसीलाई ५ हजार ६७ मतान्तरले हराएका हुन्। एमाले नेता बीसीले २९ हजार ५५८ मत प्राप्त गरे।

थानीले अहिलेसमेत गरेर तीनपटक संसदीय निर्वाचन जिते । ०७४ मा नेकपा एमालेसँगको हारको बदला यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् ।

०७४ मा एमालेका नवराज रावतसँग उनी हारेका थिए। रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर निर्वाचित हुँदा उनले २८ हजार ६४६ मत मात्र प्राप्त गरेका थिए ।

थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट सांसद चुनिएका थिए भने सहकारी तथा गरिबी निवारण मन्त्री पनि भइसकेका नेता हुन् ।