मन्त्रालय नपाउँदा राप्रपा अन्यौलमा

सुर्खेत । कर्णाली प्रदेशमा मङ्गलवार मन्त्रालयको भागबन्डाको टुङ्गो लागेको छ । सत्तारुढ दल नेकपा एमाले र माओवादीबिचको सहमतिमा मन्त्रालयको टुङ्गो लगाएको हो । यस्तै, यसअघि राप्रपाकी सांसद सन्तोषी शाहीले एउटा मन्त्रालय राप्रपाको भागमा हुनु पर्ने अडान राखेकी थिइन् ।

तर राप्रपाकी सांसद शाहीले सोचको भन्दा ठिक उल्टो भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल बसेर कर्णालीमा राप्रपाले मन्त्री पाउनुपर्ने निर्णय भएको उनले बताएकी थिइन् ।

उनले भनिन्, मन्त्रालय छुट्टाए पनि केन्द्रमा छलफल हुँदैछ । प्रदेशमा मन्त्रालयको टुङ्गो लगाए पनि केन्द्रमा शीर्ष नेताहरु बसेर यस बिषयमा छलफल हुँदै गरेको बताइन् । केही निष्कर्ष पक्का पनि आउँछ होला उनले भनिन् । आफुपनि यस विषयमा छलफल गर्न काठमाडौँ जाँदै गरेको जानकारी दिइन् । केन्द्रमा भएको सहमतिलाई बुझेर कर्णालीमा पनि सत्तासाझेदार दलले राप्रपालाई सम्बोधन गनुपर्ने उनले जिकिर गरिन् ।

यस्तै, हिजो भागबन्डा लागेको मन्त्रालयमा नेकपा माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानून र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ । त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय भागमा परेको छ ।

को बन्लान् मन्त्री

नेकपा एमालेका नेता टेकराज पछाई, शेरबहादुर बुढाको चर्चा छ भने नेकपा माओवादीबाट भिमप्रकाश शर्मा र उर्मिला बिश्वकर्मा मन्त्री सम्भावना रहेको छ ।
बुधवार मन्त्रीहरुको छनोट प्रक्रिया सकेर शपथ पनि आजै हुने माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।