मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ५ गते गराउन निर्देशन

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले यही चैत ५ गते स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने निर्णय गरेको हो।

चैत ३ गते शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भनेको थियो । तर, चैत २ गते बसेको विश्वविद्यालयको बैठकले उच्च अदालत सुर्खेतले निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो ।

तर, शुक्रबार आज बसेको बैठकले अदालतमा मुद्दा परी स्थगित गरिएका स्थान बाहेकका अन्य सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुको प्रतिवद्धता बमोजिम र शैक्षिक क्यालेन्डरलाई समेत मध्यनजर गर्दै चैत ५ गते विश्वविद्यालयमा स्ववियुको निर्वाचन सम्पन्न गर्न र गराउन सबैलाई जानकारी सँगै निर्देशन गर्ने निर्णय गरेको छ।

साथै, मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ मुसोम का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।