मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्र

सुर्खेत । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मध्यपश्चिम विश्वविद्यालयले दिन लागेको सम्बन्धन रोक्न पत्राचार गरेको छ । बिहीबार कार्यालयबाट जारी पत्रमा हाललाई विश्वविद्यालयका सबै सम्बन्धनका कार्यक्रम स्थगित गर्न भनिएको छ ।

प्रधानमन्त्री कार्यालयबाट जारी पत्रमा विश्व विद्यालयबाट भएको सम्बन्धन, पदपूर्ति सम्बन्धि विज्ञापन लगायत सांगठनिक सुशासन तथा अनियमितताको विषयमा निवेदन प्राप्त भएकाले उक्त विषयमा १५ दिन भित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

सो पत्रमा विश्वविद्यालयले सम्बन्धन दिएका आंगिक क्याम्पसहरुको वर्तमान अवस्था, विश्वविद्यालयसँग आबद्ध संकायहरु एवं कुल दरबन्दी संख्या, विश्वविद्यालयको कुल आम्दानी र खर्चको विवरण ९विश्वविद्यालय श्रोतबाट हुने आय र नेपाल सरकारबाट प्राप्त अनुदान लगायत०, विश्वविद्यालयमा हाल विद्यमान भौतिक सम्पत्ति एवं संरचनाको अवस्था, १२ औं विश्वविद्यालय सभाका लागि प्रस्तावित विषय र सभाबाट पारित भएका निणर्यहरु पेश गर्न भनिएको छ ।

यस्तै, सम्बन्धन दिने विषयको नियमावली संशोधनका लागि भएको आधिकारिक निणर्य उपलब्ध गराउँन प्रधानमन्त्री कार्यालयले भनेको छ ।

उल्लेखित विवरण प्राप्त नभएसम्म र यस कार्यालयले अर्को आदेश नदिएसम्म हाललाई त्यस विश्वविद्यालयले प्रकाशित गरेको सम्बन्धन एवं पदपूर्तिका प्रकृया स्थगित सचिवस्तरिय निणर्यबाट भएको पत्रमा उल्लेख छ ।