वीरेन्द्रनगरको बजेट ३ अर्ब २ करोड

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । आइतबार १३ औं नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।

बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब धेरै छ । चालू आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँ बराबरको बजेट ल्याइएको थियो ।

नगरपालिकाका उपमेयर निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पूँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको छ । नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ ।

‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मूल नाराका साथ नगरपालिकाले सोहीको आधारमा रहेर बजेट ल्याइएको छ ।

यस्तै मेयर मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । जसमा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन पहल गर्नेदेखि उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी पम्पिङ आयोजना अघि बढाइने नीति तथा कार्यक्रम ल्याइएको छ ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउन आफ्नै यूट्युब च्यानल सञ्चालन गर्ने भएको छ । आर्थिक सम्पन्नता, भौतिक रुपले योजनाबद्ध शहरी सुविधायुक्त, लैंगिक रुपमा महिलामैत्री, सामाजिक रुपले समावेशी/सहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरको रुपमा निर्माण गर्ने योजना बजेटका प्राथमिकतामा छन् ।