कर्णाली प्रदेशका वर्तमान र निवर्तमान सांसदहरूको यस्तो रह्यो अनुभव

सुर्खेत । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका मन्त्री उर्मिला विश्वकर्माले प्रदेशसभाको लोगो प्रयोग गर्न नजानेको बताइन् ।


बिहीबार पूर्वप्रदेशसभा सदस्य मञ्चद्वारा आयोजित कर्णाली प्रदेशसभाका वर्तमान र पूर्व सदस्यहरुबीच अनुभव आदानप्रदान कार्यक्रममा उनले संसदमा हुने ससाना गतिविधिहरुमा सुरुमा असहज हुने गरेको अनुभव सुनाइन् ।

नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियाका बारेमा सांसदहरु जानकार हुनुपर्ने उनको भनाइ छ । ‘कर्णालीमा हामीले नूनको सिरानी राखेर सुनको सपना देखिरहेका छौं । यो पूरा गर्न हामी सबै लागिपरेका छौं’, प्रदेश सांसद विश्वकर्माले भनिन् ।

यस्तै कर्णाली प्रदेशसभाकी उपसभामुख यशोदा न्यौपानेले पूर्वसांसदहरूबाट सहयोग र साथ पाइरहेको उल्लेख गरिन् ।

पूर्वप्रदेशसभा सदस्य मञ्चका अध्यक्ष पूर्वसामाजिक विकासमन्त्री दल रावलले कर्णालीमा महिला हिंसासम्बन्धी कानून ल्याएको र उक्त कानून कार्यान्वयन नहुँदा फिर्ता लिनुपरेको बताए ।

सांसदहरु जनप्रतिनिधिको खुला विश्वविद्यालय भएको उनको भनाइ थियो । रावलले कर्णाली आर्थिक हिसाब पछाडि नै रहेको बताउँदै कर्णालीमा २८ प्रतिशत दलित रहेको हुँदा दलितका लागि विधेयक बनाउनुपर्नेमा जोड दिए ।

मञ्चका सचिव पद्मा खड्काले आफ्नो पालामा संसदमा पुरुषभन्दा महिलाबाट धेरै विभेद हुने गरेको अनुभव सुनाइन् । संसदमा बोल्ने क्रममा तँछाडमछाड हुने गरेको अनुभव साट्दै उनले जति बोल्ने बानी बसाल्यौं, त्यति सिक्दै जाने अवसर पाइने बताइन् ।

प्रदेशसभा नियमावली र सदस्यको भूमिकामा सीता नेपालीले ढ्याप ढ्याप र शून्य समयमा विशेष समय र संशोधन प्रस्ताव सम्बन्धमा भनाइ राखेकी थिइन् ।

प्रदेशसभामा समितिहरुको भूमिकामा भनाइ राख्दै देवी वलीले कानूनको प्रभावकारी ज्ञान नहुँदा काम गर्न अप्ठ्यारो हुने गरेको बताइन् । कानून निर्माण, बजेट कार्यान्वयन विषयमा सांसदहरू चनाखो हुनुपर्ने उनको भनाइ छ ।

ठम्मरबहादुर विष्टले विधेयक निर्माण प्रक्रिया र प्रदेशसभा सदस्यहरुको भूमिकाको विषयमा पूर्वप्रदेशसभा सदस्यबाट अनुभव प्रस्तुति राख्ने क्रममा कर्णालीमा विधेयक बनाउँदा नै गलत गर्ने गरेको दाबी गरे । सांसद र सरकारको सम्बन्ध बाख्रा र बाघको जस्तो रहेको उनले सुनाए ।

संसदका गतिविधिहरु सचिवालयबाट जानकारी नगराउने गरेको विष्टले बताए ।

कार्यक्रममा प्रदेश सांसद सन्तोषी शाही, पूर्वसांसद राजु नेपालीले प्रदेशसभामा व्यक्तिगत रुपमा चुनौती र सहज नभएको बताए ।

उनीहरुले हरेक विषयमा महिला र पुरुषमा विभेद हुने गरेको, सामान्य व्यक्ति हुँदा र सांसद भइसकेपछि खाने, बस्ने, हिँड्ने सबै कुरामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश मामिला समिति सदस्य कल्याणी खड्का प्रदेश सांसदहरु सन्तोषी शाही, मिलन खड्का, दक्षिणा शाही, विजया बुढा, वलिमाया बुढा, जुम्कीत लामा, गमता विकको उपस्थिति रहेको थियो । पूर्वप्रदेश सभा सदस्यमा सीता नेपाली, देवी वली, अमृता शाही, पदमा खड्का, मीना रखाल, राजु नेपालीको उपस्थिति रहेको थियो ।