कर्णाली सरकार गठनकाे समय सीमा आज सकिँदै

सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनकाे समय सीमा आज (मंगलबार) सकिँदै छ । प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिन लागेको हाे ।

प्रदेश प्रमुख परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गते साँझ ५:५० बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न समय दिएका थिए ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि परियारले सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत चैत २१ गते राजीनामा दिएपछि कर्णालीमा मुख्यमन्त्री पद रिक्त अवस्थामा पुगेको छ ।

केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल भएपछि कर्णालीमा पनि सरकार परिवर्तन भएको हाे ।

सभामुखसहित चार मन्त्रालयकाे दाबी गरेकाे हुँदा एमाले सहमत नहुदाँ सरकार गठनमा सकस भएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए ।

यता, एमाले भने सानो आकारमा भएपनि सरकार गठन गर्ने र त्यसपछि भागबण्डाको विषय टुङ्गोमा पुर्‍याउने पक्षमा रहेको छ ।

सरकार गठनको विषयमा एमाले र माओवादीका शिर्ष नेताहरु छलफल गर्दै आएपनि सहमति जुट्न नसकेकाे एमालेका प्रमुख सचेतक टेकराज पर्छाईले जानकारी दिए ।

कर्णालीमा मुख्यमन्त्री सहित ८ मन्त्रालय छन् । अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका मन्त्रालयमा दुबै दलको दावी हुदाँ सरकार गठनमा ढिलाई भएको हो ।