जमुनाहा नाका आजदेखि तीन दिन बन्द

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । यही वैशाख ३१ गते भारतको उत्तरप्रदेशस्थित बहराइचमा हुने लोकसभा निर्वाचनका लागि सीमा नाका तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने पनि उनको भनाइ छ ।

निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको छ । लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दैआएका छन् ।