२०८२ जेठ १ , बिहीबार

पठनपाठन नियमित गर्न वीरेन्द्रनगर नगरपालिकाको आग्रह



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले विद्यालयहरूमा पठनपाठन र शैक्षिक गतिविधिहरू नियमित गर्न आग्रह गरेको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलनको कारण विद्यालयहरूको शैक्षिक कार्यक्रम प्रभावित भइरहेको भन्दै नगरपालिकाले अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवाला पक्षलाई समन्वय र सहकार्यको आग्रह गरेको हो।

नगर शिक्षा समितिको २०८२ वैशाख १६ गते बसेको निर्णयअनुसार, आन्दोलनका कारण बालबालिकाको पढाइमा परेको असर हटाउन र शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षसँगको सहकार्यमा विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

सूचनामा विद्यालयले आफ्नो वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रवाह गर्नुपर्ने बताइएको छ।

नगरपालिकाका अनुसार शिक्षा मन्त्रालय तथा नेपाल सरकारको निर्देशनअनुसार शैक्षिक सत्र २०८२ को प्रवेश अभियान, पाठ्यपुस्तक वितरण, शिक्षक तथा प्रशासनिक कार्यसमेत समयमै सम्पन्न गर्नुपर्ने भएकाले वैशाख १७ गतेदेखि विद्यालय नियमित सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

बरिस्ठ उपसचिव धिरेन्द्र प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा पठनपाठन नियमित गर्न विद्यालय प्रमुख, शिक्षक, अभिभावक संघलगायत सरोकारवाला सबै पक्षसँग आवश्यक संवाद, सहकार्य र सहमतिमा काम गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८२ वैशाख १७ गते बुधबार