सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न ४६औँ नेशनल एथलेटिक्स च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दबदबा कायम गर्दै उपाधि जितेको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आर्मीले ट्र्याक र फिल्डका अधिकांश इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै १७ स्वर्ण, १२ रजत र ७ कास्य गरी कुल ३६ पदक हात पार्यो । पदक तालिकामा नेपाल पुलिस क्लब ८ स्वर्ण, ७ रजत र ३ कास्यसहित १८ पदक जित्दै दोस्रो स्थानमा रह्यो भने बागमती प्रदेश २ स्वर्ण, १ रजत र १ कास्यसहित तेस्रो बन्यो ।
प्रतियोगितामा व्यक्तिगत प्रदर्शनतर्फ पनि नयाँ कीर्तिमान कायम भए । नेपाल पुलिस क्लबकी जयरानी थारुले ४ सय मिटर दौड ५७.१९ सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाइन् । उनले यसअघि एपीएफकी रमिता थारुले बनाएको ५८.१० सेकेण्डको रेकर्ड तोडेकी हुन् । जयरानीले ट्रिपल जम्पमा पनि १२ मिटर ४९ सेन्टिमिटर उफ्रँदै नयाँ रेकर्ड कायम गरिन्, जसले केसरी चौधरीको १२ मिटर २० सेन्टिमिटरको पुरानो रेकर्डलाई उछिनेको हो ।
यस्तै, महिला १६ सय मिटर रिलेमा त्रिभुवन आर्मी क्लबले पुरानो ४.०२ मिनेटको रेकर्ड सुधार गर्दै नयाँ कीर्तिमान बनायो । लङ जम्पतर्फ आर्मीका सलिम देवानले ७ मिटर ५८ सेन्टिमिटर जम्प गर्दै आठौँ राष्ट्रिय खेलकुदको ७ मिटर ३२ सेन्टिमिटरको रेकर्ड तोडे ।
नेपाल एथलेटिक्स संघको आयोजना र कर्णाली प्रदेश खेलकुद परिषद्को सहकार्यमा भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी १० टिमको सहभागिता थियो । पुरुष र महिला गरी २८ इभेन्टमा २४० खेलाडी (१२० महिला र १२० पुरुष) ले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा विजेताहरूले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।









