हुम्ला। हिमाली जिल्ला हुम्लाका उच्च स्थानमा पालिँदै आएका चौँरीगाईलाई अझै उच्च पाटनतर्फ लगिएको छ । ती उच्च पाटनमा नयाँ घाँस पलाउन थालेको र यसअघि पालिँदै आएको स्थानमा गर्मी बढेकाले चौँरीगाईलाई लेकतिर लागिएको हो ।
नाम्खा गाउँपालिकाका सबै उच्च क्षेत्रका बस्तीमा पालिँदै आएका चौँरीगाईलाई पाटनतर्फ लगिएको नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । यसअघि लिमीका हल्जी र तिल गाउँमा पालिएका चौँरीगाईलाई यतिबेला बुकी फुल्ने उच्च पाटनमा लगिएको उनले जानकारी दिए। लिमीमा हाल दुई सय चौँरीगाई रहेको र ती सबैलाई उच्च पाटनमा लगिएको वडाध्यक्ष तामाङको भनाइ छ ।
यतिबेला उच्च पाटनमा लगिएका चौँरीगाईलाई आगामी कात्तिक महिनामा मात्र गाउँ झारिने छ ।
त्यसैगरी नाम्खा गाउँपालिकाका यारी, मुचु, चाला, केर्मा, च्यादुक, गाडापारि, धिङ्गा, हेक्पा र ताङ्गीन गाउँका चौँरीगाईलाई पनि उच्च पाटनमा लगिएको छ । विशेषगरी पाटन क्षेत्रमा घाँस पलाएको र गर्मी बढ्दै गएकाले चौँरीगाईलाई लेकतिर लागिएको हो । पाटनमा चौँरीगाई लगिएपछि सुनसान रहेका ती क्षेत्रहरू अहिले रमाइला देखिन थालेका छन् ।









