‘खेलका माध्यमबाट देश र आमाको मुहार रोशन गर्नु छ’

भनिन्छ मानिस बाह्य सुन्दरताभन्दा भित्री अर्थात संस्कारमा सुन्दर हुनुपर्दछ । म १६ श्रृंगार ३२ लक्षणले पूणर् छैन, र म कसैले प्रमाणित गर्न खोजे झै गलत पनि छैन । सुख, दुःख जीवनका पाटा हुन् । यी मानिसको जीवनमा कहिल्यै स्थायी भएर आएका हुँदैनन् ।

जुन दिनदेखि मैले संसार चिन्न थाले सायद त्यसै दिनदेखि मेरो दुःखमा न कोही सम्झाउने आए न कोही सहानुभूति दिन नै । आए त केवल असह्य पीडासहित मलाई हराउने जमात । म आफैमा परिपक्व थिइन हरेक कुरा मेरा लागि सिकाईका विषय थिए ।

आफ्नै संघर्षले गन्तव्य खोज्दै अगाडि बढेको मलाई हौसला दिनुको साटो मेरा आफ्नैले हराउन ठुलै बाजी लगाई दिए । म आफैमा चम्किने तारा हुँ, कसैको लागि हिरा मोति बन्नु छैन । म मेरो लागि म नै हिरो हुँ, म मेरै सुपरहिरो हुँ तर, आजसम्म कसैले मेरो जिन्दगीमा त्यस्तो काम गरेको छैन जसलाई मैले मेरो सिरमा राख्न सकु ।

असङ्ख्य आफन्तहरूका बीच आफन्त विहिन भएको छु । आफन्तको खोल ओडेर हिँडेका केहि आफन्तबाट जोगिएर हिड्नु छ । मैले जीवनमा धेरै संघर्ष गरेको छु । भनिन्छ नि विषम् परिस्थितिमा जसले साथ दिन्छ त्यो नै आफन्त हो । संकट पर्दा, दुःख पर्दा, सत्रु लाग्दा र अनिकालमा जसले साथ दिन्छ त्यो नै असली आफन्त हो ।

आफन्तको खोल ओडेकाहरुलाई चिन्न मात्र पर्छ वास्तविक आफन्त को हुन् चिन्न सकिन्छ । यहाँ मेरा आफन्त म ठेस लागेर लडेको त्यही ढुङ्गालाई भगवान भनेर पुज्छन्, म माहुरीको खोजीमा हुन्छु, तर, उनीहरु त्यसलाई अरिङ्गाल बुझ्छन् । धेरै कुरा गुमाएको छु । आफन्तकै कारण डिप्रेसनको सिकार भएको छु । धेरै कुरा नचाहिने पनि गुमाएको छु । शुल्क तिर्ने पैसा नभएर कलेज छाड्न बाध्य भएको छु ।

साथीभाइलाई भुलेको छु, सपनाहरुलाई दाह संस्कार गरेको छु, भारी मन बोकेर दुनियाँको सामु मुस्कुराएको छु । सपनाको सहर, रहर छाडेको छु, खुशी देख्नेले देखेकै होलान् मैले इज्जत बेचेको छैन, इमान बेचेको छैन, घमण्डका साथ भन्न सक्छु म मेरो वंशको शिर निहुराउन दिने छैन । मेरा आफन्तलार्ई आफन्तको खोस्टो बोकेर हिँडेकाहरुबाट बचाउनु छ । सपनाको जिन्दगी जिउन मन छ, मसँग जोडिन आउने सबैलाई खुशी बनाउन कोशिस गर्नु छ ।

मान्छे हुँ गल्ती हुन्छ होला, बिग्रन्छ होला, सुध्रिन कोशिश गर्नेछु, पग्लने छु, छचल्किन् पनि आउँछ, उड्न पनि आउला, लड्न पनि जानी हाल्छु । मान्छे हुँ सबै सम्भव छ । तर, आफन्तको खोल ओड्नेबाट बच्नु छ । गन्तव्यमा पुग्ने कोशिस गर्दा मलाई आफन्तले नै पछारि दिएका छन् । कहिल्यै उठ्न नसक्ने गरी, आफन्तले नै गाडीदिएका छन् कहिल्यै नउम्रने गरी । तिनीहरूको अपमान र तिनीहरूको गिरावटले मेरो जिन्दगीमा धेरै परिवर्तन आउला नआउला तर, म परिपक्व भने पक्कै हुनेछु ।

अगाडि बढ्दै जाँदा भोगेका तिखा वचन, अपमानित व्यवहारले मलाई खिन्न बनाइसकेको थियो । घरमा कुरा चल्थ्यो त तेरो यात्रा रोकिदिए पनि हुन्छ । मैले आफूले आफ्नो लागि गन्तव्य खोज्दै गर्दा कहीं श्रम गर्न खोजे पनि चाहेजस्तो काम पाइएन । मन लगाएर धेरै काम गर्न बाँकी छ तर, त्यो अगाडि मेरो खेल जगतमा मैले ठूलो लगानी लगाएको छु ।

कसैले साथ दिए धेरै अघि जान मन छ र मेरो देश, मेरो कर्णाली प्रदेश र मेरो परिवारसँगै मेरो नाम रोशन गर्ने चाहना छ । मनमा यस्ता हजार बाध्यताका लहरहरु छन् । कति रहरहरु छन् तर, बुझिदिने र सुनी दिने कोही भए मेरो यात्रा सुनौलो म आफैं गर्थे । आमाको लागि जिन्दगी जिउनु छ । टाढा बसेर भएपनि आमालाई खुशी राख्नु छ । जिन्दगीमा ठूला सपना त कति छन् कति तर, एउटै कहर छ । आमा तिम्लाई खुशी राख्ने तिम्रो रहर पूरा गर्ने बस् यही चाहना छ ।