आचारसंहिता पालनामा आयोगले कडाई गर्छ : आयुक्त तुलाधर

सुर्खेत : निर्वाचन आयोगकी आयुक्त जानकी कुमारी तुलाधरले आचारसंहिता पालनाको विषयमा आयोग कडा भएर लाग्ने बताएकी छन् । निर्वाचनका बेलामा हुने आचारसंहिता उलंघनका क्रियाकलापहरु बढ्ने भएकोले यो बेलामा निर्वाचन आयोग अँझै कडाइका साथ लाग्ने निर्वाचन आयुक्त तुलाधरले बताएकी छन् ।

निर्वाचन आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘निर्वाचनलाई भयरहित, निष्पक्ष रुपमा सम्पन्न गर्ने आयोगको लक्ष्य रहेको छ’ तुलाधरले भनिन्, ‘आयोग आचारसंहिताको विषयमा आयोगले कडाई गर्छ ।’ उनले बदर मत कम गर्नको लागि मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरिन् । ‘खसेको मत बदर हुन दिनुहुदैन, यो हामी सबैको जिम्मेवारी हो’ आयुक्त तुलाधरले भनिन्, ‘निर्वाचनमा मतदाताको सहभागिता बढाउने जिम्मेवारी पनि रहेको छ ।’

आयोगले अहिले मतदाताको जागरण र आचारसंहिताको पालनाको कुरामा समेत जानकारी गराइरहेको औल्याइन् । सञ्चारमाध्यम र सञ्चारकर्मीहरुबिना आयोग अधुरो रहेको समेत उनले जिकिर गरिन् । मिडियाले दिने सुचना सहि र तथ्यपरक भएमात्रै नागरिकहरुको बुझाई सहि हुने भन्दै उनले एकपटक हेरेर मात्रै समाचार प्रकाशन गर्न पत्रकारहरुलाई आग्रह गरिन् । आयोग सुचना मैत्री भएको र जतीबेलापनि ११०२ मा फोन गरेर सुझाव दिन सबैलाई उनले आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद अर्यालले आचारसंहिता पालनाका विषयमा सबैलाई झक्झकाउन सञ्चारमाध्यमहरुलाई आग्रह गरे । मिडियाले समेत तथ्यलाई तलमाथी पारेको हुनसक्ने भन्दै सुचनाप्रवाह गर्दा तथ्यपरक हुनुपर्ने बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका निमित्त सचिव आनन्द सारुले राज्य सञ्चालन प्रणालीलाई बलियो बनाउनका लागि निर्वाचनले ठुलो महत्व राख्ने बताए प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबै राजनितिक दलहरुले कर्तव्य बोधगरेर निर्वाचन आयोगद्धारा जारी भएको आचारसंहितालाई पुर्ण रुपमा कार्यान्वयन गरेको खण्डमा निर्वाचन सहज हुने उनले बताए ।


कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचनको बेलामा मिथ्या सुचना, दुष्प्रचारलाई रोक्न पत्रकारले मुख्य भुमिका खेल्नुपर्ने औल्याए । राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राईले निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि मिडियाको महत्वपूर्ण भुमिका रहनेमा जोड दिए । उनले निर्वाचनको समयमा पत्रकारहरुले आचारसंहित उल्लघंनका विषय उजारगर गर्नुका साथै पत्रकार स्वयंमले पनि आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताए ।