सुर्खेत । कर्णालीका ३८ हजार ९७० जना विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी हुँदैछन् । शुक्रबार बिहान ८ बजेबाट परिक्षा सुरु भएकाे छ । माध्यमिक शिक्षा परीक्षा एसईईमा १७९ वटा परीक्षा केन्द्र रहेको कर्णालीमा १९ हजार ३०१ जना छात्र र १९ हजार ६७९ छात्राले आज एसईई दिन लागेका हुन् ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दीपा हमालका अनुसार परीक्षार्थी सङ्ख्या १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबै भन्दा कम डोल्पामा रहेका छन् ।
३२ वटा परीक्षा केन्द्र रहेको सुर्खेतबाट ९ हजार १३९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । ३ वटा परीक्षा केन्द्र रहेको रुकुम पश्चिममा ४ हजार २१६ विद्यार्थी र २३ वटा परीक्षा केन्द्र रहेको सल्यानबाट ४ हजार ९८३ विद्यार्थीले परीक्षा दिँदै छन् ।
हिमाली जिल्लाहरूमा भने विद्यार्थी र परीक्षा केन्द्रको सङ्ख्या न्यून रहेको छ । ६ वटा परीक्षा केन्द्र रहेको हुम्लामा १ हजार २३४ विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । यस्तै मुगुका ७ परीक्षा केन्द्रमा १ हजार ६६६, डोल्पाका ४ परीक्षा केन्द्रमा ६९८ जना परीक्षार्थी रहेका छन् ।
यस्तै २१ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७६६, १७ परीक्षा केन्द्र रहेको जुम्लामा २ हजार ८७७ जना परीक्षार्थी रहेका छन् । २० वटा परीक्षा केन्द्र रहेको जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थी रहेका छन् ।
जम्मा ३८ हजार ९७० जना मध्ये नियमिततर्फ ३७ हजार ९०० र ग्रेड वृद्धितर्फ १ हजार ७० जना परीक्षार्थी रहेको निर्देशक हमालले जानकारी दिइन ।
ए.के. सञ्चार । १७ चैत्र २०७९, शुक्रबार ०८:२४