लुकीछिपी यार्सा सङ्कलन गर्न जाने १३ जना पक्राउ

डोल्पा। हिमाली जिल्ला डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नु अगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका ४ चौरोकोटका सोमराज रोकाय, मान बहादुर थापा, वसन्त सिंह, कर्मा प्रसाद वि।क र मुड्केचुला गाउँपालिकाका मनोज बुढा, धन बुढा, भिम बुढा, जनम बुढा, धन बहादुर बुढा, मुकु बुढा, सर्वराज बुढा, त्यस्तै जुम्ला गज्याङकोटका प्रकाश बुढा र कालिगार बुढा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले जानकारी दिए ।

उनीहरु सबै निकुञ्जको तोइजुम पोष्टबाट पक्राउ परेको भण्डारीले बताए । डोल्पामा प्रत्येक वर्ष सर्वदलिय निर्णय गरेर मात्र यार्सा संकलन पाटन खुलाउने गरिन्छ । यार्साका लागि पाटन नखुल्दै उनीहरु अवैध रुपमा पाटन छिर्न खोज्दा पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।