सुर्खेत । गुड लिडर २०२५ कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा तीन दिने करिअर परामर्श तथा भविष्य योजना निर्माणसम्बन्धी तालिम सुरु भएको छ। असार ९ गतेदेखि सुरु भएको तालिम असार ११ गतेसम्म सञ्चालन हुनेछ।

तालिम गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपालको समन्वयमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो।
उक्त परियोजनाबाट छात्रवृत्ति प्राप्त गरी हाल विरेन्द्रनगरमा उच्च शिक्षा अध्ययनरत हुम्ला र मुगु जिल्लाका ३२ जना विद्यार्थीहरू तालिममा सहभागी छन्।
उनीहरूको क्षमता अभिवृद्धि गर्दै अध्ययनपछि पेसागत यात्राको स्पष्ट मार्गचित्र बनाउन सहयोग पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको किडार्कका तालिम संयोजन टेकबहादुर शाहीले जानकारी दिए।
तालिममा सहभागी विद्यार्थीहरूलाई अध्ययन, लक्ष्य निर्धारण, योजना निर्माण र व्यवहारिक सीपका बारेमा मार्गदर्शन दिइएको छ। तालिमका सहजकर्ता काठमाडौं तालिम केन्द्रका कार्यकारी निर्देशक राजबहादुर गिरी रहेका छन्।







