जाजरकोट । कर्णाली प्रदेशको जाजरकोटबाट उदाएकी सुमी खड्काले राष्ट्रिय स्तरको चर्चित रियालिटी शो ‘द स्पिकिङ टाइटन’ को टप–६ फाइनलिस्ट मा स्थान सुरक्षित गरेकी छन्।

हाल चार्टर्ड एकाउन्टेन्सी (CA) अध्ययनसँगै पेशागत जीवनमा पनि सक्रिय खड्का कर्णाली प्रदेशबाट फाइनल चरणसम्म पुग्ने एकमात्र प्रतिस्पर्धी बनेकी हुन्। यस सिजनमा डिजिटल अडिसनमार्फत ३ हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी भएका थिए।
डिजिटल अडिसन, फिजिकल अडिसन, सर्वाइभल राउन्ड, ‘कठिन परीक्षा’ लगायतका चुनौतीपूर्ण चरणहरू पार गर्दै खड्का टप ५०, टप ३०, टप २०, टप १५, टप १० हुँदै अन्ततः टप–६ (ग्रान्ड फिनाले) मा पुग्न सफल भएकी हुन्।
यस सिजनको फाइनलमा कर्णाली प्रदेश तथा जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने एकमात्र आवाज सुमी खड्का नै हुन्। कर्णालीलाई अझै पनि अविकास, गरिबी, अवसरको कमी र अशिक्षासँग जोडेर हेर्ने प्रवृत्तिलाई खड्काको सशक्त प्रस्तुतिले चुनौती दिँदै आएको छ। उनको यो यात्रा कर्णाली पनि राष्ट्रिय मञ्चमा बुलन्द हुन सक्छ भन्ने सन्देशका रूपमा हेरिएको छ।

फाइनलअघि प्रतिक्रिया दिँदै खड्काले भनिन्,
“कर्णालीका युवाहरू पनि सपनासहित उठ्न सक्छन् भन्ने देखाउन पाउनु मेरो गर्व हो। कर्णालीले पनि राष्ट्रिय मञ्चमा आफ्नो आवाज राख्न सक्छ भन्ने प्रमाण बन्न पाउँदा म गौरवान्वित छु।”
फाइनल नजिकिँदै जाँदा उनले देशभरका दर्शक तथा समर्थकसँग भोटको अपील गरेकी छन्। खड्काको भनाइ छ,
“यो मेरो मात्र जित होइन। यो कर्णालीको जित हो, यो जाजरकोटको जित हो। मलाई जिताउनु भनेको कर्णालीलाई आवाज दिनु हो।”
कर्णालीका लागि फाइनलसम्मको यात्रा आफैंमा ऐतिहासिक उपलब्धि मानिएको छ। अब सारा देशको ध्यान एउटै प्रश्नमा केन्द्रित छ,` के जाजरकोटका डाँडाबाट उठेको यो आवाज राष्ट्रिय शीर्षक बनेर प्रतिध्वनित हुनेछ?
खड्कालाई Aventoz App, eSewa, Khalti वा Direct QR मार्फत भोट गर्न सकिने आयोजकले जनाएको छ।









