सल्यान। वनगाड कुपिण्डे नगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८० करोड ८४ लाख रुपियाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
नगर प्रमुख कर्णबहादुर बुढाथोकीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न नगरसभामा नगर प्रमुख बुढाथोकीले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने नगर उपप्रमुख पुरुषोत्तम आचार्यले ८० करोड ८४ लाख रुपियाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन् । नीति, कार्यक्रम तथा बजेटमाथि नगरसभा सदस्यहरूबीच भएको छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको हो।

पारित बजेटअनुसार चालु खर्चतर्फ ४४ करोड ५५ लाख रुपियाँ ९५५ प्रतिशत० तथा पुँजीगत खर्चतर्फ ३६ करोड १० लाख रुपियाँ ४५ प्रतिशत विनियोजन गरिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ, रोजगार प्रवद्र्धन, सामाजिक सुरक्षा, सुशासन, सूचना प्रविधि, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
बजेटको स्रोत व्यवस्थापनअनुसार आन्तरिक राजस्वबाट एक करोड ५४ लाख, नेपाल सरकारको राजस्व बाँडफाँडबाट १३ करोड ३६ लाख, वित्तीय समानीकरण अनुदानबाट १२ करोड २७ लाख, विशेष अनुदानबाट एक करोड ५० लाख, समपूरक अनुदानबाट एक करोड ५० लाख तथा सशर्त अनुदानबाट ४० करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ६१ लाख, सशर्त अनुदान तीन करोड ५७ लाख तथा राजस्व बाँडफाँडबाट ३२ लाख रुपियाँ प्राप्त हुने जनाइएको छ। बाँकी १० करोड १९ लाख रुपियाँ गत आर्थिक वर्षको बचत रकमबाट व्यहोर्ने नगरपालिकाले जनाएको छ।
नगरसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले जनताको सबैभन्दा नजिकको साथी तथा सेवकका रूपमा रहेको स्थानीय तहलाई जति बलियो बनाउन सकियो त्यति नै संघीय लोकतान्त्रिक गणतन्त्र सबल र सुदृढ हुने बताए। उनले संघीय जनप्रतिनिधिका रूपमा स्थानीय सरकारसँग सहकार्यका लागि इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै तीनै तहका सरकार र जनप्रतिनिधिले आ–आफ्नो जिम्मेवारी तथा प्राथमिकताअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
उनले जनताको घरदैलोको सरकार स्थानीय तह भएकाले त्यसलाई थप सक्षम, जवाफदेही र जनमुखी बनाउन आवश्यक रहेको उल्लेख गर्दै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा पूर्वाधार विकासका क्षेत्रमा समन्वय र सहकार्यबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताए।
नगर प्रमुख कर्णबहादुर बुढाथोकीले सीमित स्रोतसाधनका बाबजुद नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, रोजगार सिर्जना तथा आधारभूत पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए।









