बाढीका कारण अमरज्योति माविको ६६ औँ वार्षिकोत्सव स्थगित



सुर्खेत । वीरेन्द्रनगर–१२ सुर्खेतस्थित श्री अमरज्योति माध्यमिक विद्यालयले आफ्नो ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम स्थगित गरेको छ।

विद्यालय व्यवस्थापन समितिको बैठकले रसुवा, नुवाकोट तथा धादिङतर्फ भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

विद्यालयले यही भदौ १५ गते ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको थियो। तर विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिएका छन् ।

विद्यालयले कार्यक्रम स्थगित भएकोमा सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी तथा सम्बन्धित सरोकारवालासँग असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार