कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने

कालीकोट । कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने भएको छ । दैलेखको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभिए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान लागेको हो ।

विगतमा कालीकोट र जुम्लामा ११ केभिए प्रसारण लाइन भएको र त्यसले विद्युतको मागलाई धान्न नसकेका कारणले अहिले त्यसको विस्तार ३३ केभिए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए ।

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिबारदेखि आउँदो आइतबारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

३३ केभिए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युत्का पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक पाण्डेले जानकारी दिए ।