राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद, दुई लाख जरिवाना

सुर्खेत । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना ताेकेकाे छ । सुर्खेत जिल्ला अदालतले बिहीबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको हो । अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने सुर्खेतकै चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सातरसात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो ।

उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो ।

उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो ।

दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो । यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए ।