जिल्ला अस्पताल र ३ स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

कालीकोट — कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि एक संस्थाले जिल्ला अस्पताल र ३ स्थानीय तहलाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्लान इन्टरनेसनलले झन्डै २० लाख रुपैयाँको स्वास्थ्य सामग्री अस्पताल र स्थानीय तहलाई वितरण गरेको हो ।

अस्पतालसहित रास्कोट नगरपालिका, सान्नीत्रिवेणी र नरहरिनाथ गाउँपालिकालाई सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिलाई संस्थाले उपलब्ध गराएको ५ सय पीपीई सेटमध्ये कोभिड अस्पताललाई २ सय र ३ पालिकालाई १÷१ सयका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार संस्थाले दिएको ३ सय ५० बोतल सेनिटाइजर, १ हजार ६ सय थान मास्क, ५० वटा आईआर थर्मामिटर, १ हजार थान फेस सेट र १ सय प्याकेट पञ्जा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै, ७५ बोतल सोडियक हाइपो क्लोसाइड, १४ वटा स्प्रेटंकी र २ सय ५० प्याकेट सेनेटरी प्याड स्थानीय तह र अस्पताललाई दिइएको छ ।

कालीकोटमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय ३६ पुगेको छ । ३ जनाले जिल्लाभित्र र ३ जनाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाएका छन । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २ सय ९२ छ ।