काँग्रेस महामन्त्री खड्काद्धारा स्वास्थ्य संस्थाहरुलाई ५० लाखको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । काँग्रेस महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको पहलमा सुर्खेत जिल्लामा रहेका अस्पताल, स्वास्थ्य चौकीहरुलाई करिव ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् ।

प्रदेश अस्पताल, आयुर्वेद अस्पताल, मेहेलकुना अस्पताल, मैनतडा आयुर्वेद अस्पतालसहित जिल्लाका ४७ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा नगरपालिका र चार वटा गाउँपालिकालाई ती सामग्री दिइने बताइएको छ ।

कोभिड—१९ का विरामीहरुको उपचारमा सहयोग पुगोस् भनेर महामन्त्री खड्कालगायत चौधरी ग्रुप र चिकित्सक संघले पनि सामग्री उपलव्ध गराएका छन् । शुक्रवार प्रदेश अस्पताल र प्रदेश आयुर्वेद अस्पतालमा ती सामग्रीहरु वितरण गरिएको छ । महामन्त्री खड्काको तर्फबाट भाइ विष्णुबहादुर खड्का र बुहारी डा. सन्जु खड्काले प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई ती सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

विष्णुबहादुर खड्काका अनुसार अक्सिजन सिलिण्डर ७५ थान, अक्सिजन कन्सन्ट्रेटर १४ थान, अक्सिजन फ्लोमिटर ४८ थान, सेनिटाइजर दुई सय जर्किन, पल्स अक्सिमिटर ८४ थान, पिपिई सेट १० थान र मास्क दुई लाख २५६ हजार थान वितरण गरिनेछ ।

सामग्री ग्रहण गर्दै प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले सामग्री जुटाउने महामन्त्री पूर्णबहादुर खड्कासहित सवैलाई धन्यवाद व्यक्त गर्दै दाताहरुको सहयोगबाट कोभिड—१९ विरुद्ध लड्न सहज भएको बताए ।

यसैवीच सो अवसरमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका धर्मपत्नी डा. सन्जु खड्काले आफ्नो जन्मदिनको अवसरमा प्रदेश अस्पताललाई तन्ना सहयोग गरेकी छन् ।