भारतमा अर्को महिना कोरोनाको तेस्रो लहर, नेपालको बेवास्ता

काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर कमजोर हुँदै गर्दा नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले भने पूरै तरिकाले अझै नसकिएको बताइरहेको छ । भारतमा सोमबार मात्रै ३४ हजार २६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै ५५२ जनाको ज्यान गएको छ । यो आँकडाले भारतमा दोस्रो लहरको प्रभाव अझै रहेको स्पष्ट पारेको छ । तर तेस्रो लहर छिट्टै आउने भन्दै सचेतसमेत पार्न खोजिएको छ । भारतको एसबीआई अनुसन्धानको रिपोर्टमा आगामी अगष्ट महिनाबाट तेस्रो लहर आउने दाबी गरिएको छ ।

‘कोभिड–१९ द रेस टु फिनिसिङ लाइन’ नामबाट प्रकाशन गरिएको रिपोर्टअनुसार तेस्रो लहर अगष्टमा आउने र यसको ‘पिक’ उच्च बिन्दू सेप्टेम्बर हुने पनि दाबी गरिएको छ । यसअघि एसबीआईले दोस्रो लहरको पिक मे महिनाको तेस्रो हप्तालाई बनाएको थियो । जब कि मे को ६ तारिखमा भारतमा अहिलेसम्मकै एकै दिनमा बढी ४ लाख १४ हजार नयाँ संक्रमित थपिएका थिए ।

रिपोर्टअनुसार तेस्रो लहरको उच्च बिन्दू दोस्रो लहरको उच्च बिन्दूभन्दा १।७ देखि २ गुणा बढी हुनेछ । तेस्रो लहर अक्टुबरदेखि नोभेम्बरसम्म हुने अनुमान पनि गरिएको छ । भारतले यसलाई ध्यानमा राखेर सचेतना अपनाउन थालिसकेको छ ।

नेपालमा छैन वास्ता

नेपालमा भने जुनसुकै लहर आए पनि सरकारले वास्ता गरेको छैन । सरकारलाई यत्ति थाहा छ कि केही समय निषेधाज्ञा गरेपछि पुग्छ । तर दोस्रो लहरले दुःख दिन छाडेको छैन । सोमबार मात्रै २३ प्रतिशत संक्रमित थपिँदा पनि सरकारलाई वास्ता छैन । मंगलबारदेखि सबै सार्वजनिकदेखि निजी सवारी खुलेका छन् ।

अब यसले विकराल स्थिति निम्त्याउने निश्चित छ । तर सरकार यतातर्फ ध्यान दिइरहेको छैन ।दिल्लीमा पानी परे काठमाडौंमा छाता ओढ्ने चलन छ । त्यो राजनीतिक चलन भए पनि कोरोनाको प्रकृतिले भने भारतमा नयाँ लहर आउनासाथ त्यो नेपालको हरेक कुनामा पुग्ने निश्चित छ ।

खोपको तुलना हुन सकेन

भारतले द्रूत गतिले कोरोनाको खोप लगाइरहेको छ । अहिलेसम्म ३५ करोड ७६ लाखको हाराहारीमा भारतमा खोप लगाइसकिएको छ । जसमा ५ प्रतिशत जनसंख्याले दुवै खोप लगाएको छ भने २१।८ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।

नेपालमा भने यो गति न्यून छ । भारतले नै १० लाख कोभिशिल्ड खोप नदिएर साढे १३ लाख ज्येष्ठ नागरिक खोप लगाउनबाट वञ्चित भएका छन् । अर्कातर्फ खोप रोकिएको १० लाख र लगाउनु पर्ने साढे १३ लाख । यसबाटै स्पष्ट हुन्छ नेपाल सरकारले हचुवाको भरमा पहिलो डोजको खोप लगायो ।

दोस्रो डोज सुरक्षित नगरी पहिलो डोज लगाउनु नहुने हो । तर सरकारले त्यसो गरेन । त्यसको परिणाम अहिले ज्येष्ठ नागरिकले अलपत्र हुनु परेको छ । अहिलेसम्म कोभिशिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् भने दोस्रो डोज ४ लाख ६० हजार ७३४ जनाले मात्र लगाएका छन् । यो तथ्यांकबाट पनि १३ लाख ६७ हजार ७५० जनाले खोप लगाउन बाँकी छ ।

त्यस्तै भेरोसिलको पहिलो डोज ७ लाख ८३ हजार ३२३ जनाले लगाएका छन् भने दोस्रो डोज २ लाख ९९ हजार २२० जनाले लगाएका छन् । मंगलबारदेखि भेरोसिलको दोस्रो डोज ६० देखि ६४ वर्ष उमेर समूहकाले लगाउन थालेसँगै यो संख्या बढ्ने छ । तर ज्येष्ठ नागरिक अलपत्र परेका छन् ।

छैन कोरोना विपद्को तयारी

सरकारले कोरोना विपद्को तयारी गरिरहेको छैन । पहिलो लहरबाट ज्येष्ठ नागरिक, दोस्रो लहरबाट युवा र तेस्रो लहरमा बालबालिकासमेत समेटिने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

तर यतातर्फ सरकारको ध्यान गएको छैन । बालबालिकाका लागि खोप लगाउने योजनासमेत सरकारले बनाउन सकेको छैन । यतातर्फ गम्भीर ध्यान नदिने हो भने तेस्रो लहरमा अझ ठूलो क्षति बेहोर्नुपर्ने निश्चित छ ।