कर्णालीका चारसहित २२ जिल्ला कोरोनाको उच्च जोखिममा

काठमाडौं । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहरको उच्च जोखिम देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो । १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको हो ।

सरकारले यससँगै २२ जिल्लालाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । जसमा कर्णाली प्रदेशका सल्यान, सुर्खेत, दैलेखर कालिकोट छन् । सूदरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा भने अति उच्च जोखिममा छन् । यस्तै, झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठानसहित २२ जिल्ला अति उच्च जोखिम क्षेत्रमा परेका छन् ।

मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए । ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा। अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै गए व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

एक संक्रमितले एक वा सोभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जाने विज्ञ बताउँछन् । संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ । त्यसका लागि भरपर्दो विकल्प खोप लगाउने हो । तर, खोप केन्द्र टाढा हुँदा कतिपय खोपबाट वञ्चित भएका छन् । कतिपय ठाउँमा खोप दुरुपयोग भई लक्षित समूहले लगाउन पाएका छैनन्। ‘सरकारले घर–घरमा गएर खोप लगाइदिने रणनीति तयार गरेको छैन। कार्यविधि बनेको पनि छैन,’ सह–प्रवक्ता डा। अधिकारीले भने ।

खोप जतिसक्यो चाँडै लगाउनुपर्ने विज्ञको सुझाव छ । डा। अधिकारीका अनुसार हालसम्म मुलुकभर ८८ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त भएको छ । त्यसमध्ये ५० लाख ४७ हजार ३ सय ५५ डोज प्रयोग भइसकेको छ । ३५ लाख ४४ हजार ४३ जना व्यक्तिले एक डोज खोप लगाइसकेका छन् । १५ लाख ३ हजार ३ सय १२ जनाले पूर्णडोज लगाइसकेको डा। अधिकारीले बताए ।

उनका अनुसार सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान अघि बढाइरहेको छ । दोस्रो डोज लगाउनुपर्ने व्यक्तिलाई पनि चाँडै लगाउने गरी काम अघि बढाइएको छ। खोप लगाउन बाँकी १८ वर्ष माथिका जति पनि जनसंख्या छ, खोप लगाउने काम अहोरात्र भइरहेको उनले बताए ।

मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ। होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्। संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन् । अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष ९आईसीयू०मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ८ सय ८ परीक्षण गर्दा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ९३ छ । संक्रमितमध्ये ३३ जनाको निधन भएको छ । गण्डकी प्रदेशमा परीक्षण गरेका हरेक तीनमध्ये दुई जनामा संक्रमण पुष्टि हुने गरेको छ । ६२ प्रतिशत व्यक्ति संक्रमण पुष्टि भइरहेको डा। अधिकारीले बताए ।