अधिकाँश स्थानीयतहमा देउवा पक्ष भन्दा पौडल पक्षको हावी

कर्णालीमा काँग्रेस अधिवेशन

सुर्खेत । कर्णालीका १० जिल्लामध्य ८ जिल्लामा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन शेरबहादुर देउवाभन्दा रामचन्द्र पौडेल पक्षले सात सभापतिसहित अग्र स्थानमा छ । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्य हालसम्म ८ जिल्लाका ६२ वटा पालिकामा सम्पन्न भएको अधिवेशनमा ३४ पालिकामा पौडल र २७ पालिकामा देउवा पक्षका सभापतिहरुले जितेका हुन् । तर जाजरकोट भेरी नगरपालिकाका सभापति शशि बुढा भने कतै खुलेका छैनन् ।

कर्णालीमा पनि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ  । तर, तीव्र प्रतिस्पधाका बीच पनि धेरै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

सल्यानमा दुवै समूह बराबरी अवस्थामा देखिएका छन् । १० स्थानीय भएको सल्यानमा संस्थापन पक्ष र स्थापनइतर समूहमा पाँच-पाँच पालिकामा सभापति विजयी भएका छन् ।

दुइ स्थानीय तहमा भने सर्वसम्मत नेतृत्व चयन भएको काँग्रेस सल्यान सभापति गणेश चन्दले बताए । देउवा समूहबाट देउवा समूहबाट बागचौर नगरपालिकामा दीपेश डिसी, बनगाड नगरपालिकामा पुरुषोत्तम आचार्य, छत्रेश्वरी गाउँपालिकामा सीता केसी, त्रिवेणी गाउँपालिकामा गंगाराम पुन र कुमाखमा गाउँपालिकामा ईश्वरी शाही सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै पौडेलले समूहबाट शारदा नगरपालिकामा दीपक हमाल, कपुरकोट गाउँपालिकामा यज्ञराज वली, कालीमाटी गाउँपालिकामा गणेश केसी, दार्मा गाउँपालिकामा कृष्ण वली र सिद्धकुमाख गाउँपालिकामा वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित भएका छन् ।

जाजरकोटका सात वटै पालिकाको नेतृत्व चयन भएको छ । योमध्य जिल्लाको जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिकामा चुनाव भएको नेपाली कांग्रेस जिल्ला सभापति दिपकजंग शाहले जानकारी दिए । जिल्लाको जुनीचाँदेमा वीरेन्द्रबहादुर शाही, शिवालयमा जस्विर वली र छेडागाडमा टोपेन्द्र अधिकारी चएन भएका छन् । उनीहरु देउवा पक्षका सभापति हुन् ।

भेरी नगरपालिकामा शशि बुढा सभापतिमा निर्वाचित भएका छन् । उनि कुनैपनि समुहमा खुलेका छैन्न् । यस्तै, नलगाड नगरपालिकामा जय बहादुर सिंह, बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति र कुशे गाउँपालिकाका अमेरबहादुर थापा पौडेल पक्षका सभापति हुन् ।

दैलेखका ११ पालिकामध्य पौडेल पक्ष ६ र देउवा पक्ष ५ पालिकामा निर्वाचित भएका छन् । देउवा समूहबाट नारायणमा मनोज थापा, चामुण्डामा जगतबहादुर शाही, डुङ्गेश्वरमा भीमबहादुर भट्ट, दुल्लुमा लालबहादुर रावत र आठविसमा अर्जुनबहादुर शाही सभापतिमा निर्वाचित भएका छन् । यी पालिका पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएपनि देउवा पक्षले आफ्नो वर्चश्व जमाएको हो ।

त्यस्तै पौडेलले समूहबाट महावुमा कर्णबहादुर शाही, गुराँसमा चन्द्रबहादुर भट्टराइ, ठाँटिकाधमा विष्णु प्रसाद रिजाल, भगवतीमाईमा खगेन्द्रबहादुर शाही, भैरवीमा हेमलाल जैसी र नौमुलेमा गंगबहादुर शाही सभापतिमा निर्वाचित भएका छन् ।

कालिकोटका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बलमे जानकारी दिए । यीमध्य ७ वटा पालिकामा वरिष्ठ नेता पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता आएका छन् ।

पौडेल पक्षले नेतृत्व गरेको पालिकाहरूमा तिलागुफामा धिरेन्द्र थापा, खाँडाचक्रमा भानुभक्त शर्मा आचार्य, पालातामा धिरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल, सानीत्रिवेणीमा वीरेन्द्र केसी, महाबैमा पुराधी अधिकारी र शुभकालिकामा दीर्घबहादुर शाही सभापति चयन भएका छन् । देउवा पक्षले रास्कोट नगरपालिकामा वीर फर्साल र नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला सभापतिमा चएन भएका छन् ।

जुम्लाका ८ वटा स्थानीय तह रहेको जुम्लामा २ स्थानीय तहमा निर्वाचन गरिएको छ भने ६ वटामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । जिल्लामा देउवाभन्दा पौडेल पक्ष हाबी भएको देखिन्छ । आठ पालिकामध्ये ६ पालिकामा पौडेल पक्षका सभापति चएन भएका छन् भने दुई वटामा देउवा पक्षका सभापतिले जित हात पारेका छन् ।

पौडेलले समूहबाट चन्दननाथमा रवि थापा, कनकासुन्दरीमा लालु बुढा, हिमामा नरबहादुर शाही, तिलामा भक्तबहादुर रोकाय, तातोपानीमा धनप्रसाद चौलागाँइ र पातारासीमा गोर बहादुर बोहोरा चएन भएका छन् ।

त्यस्तै देउवा पक्षका गुठिचौर गाउँपालिका र सिंजा गाउँपालिकामा सभापती चएन भएका छन् । जसमा गुठिचौरमा टेकबहादुर भण्डारी र सिंजामा गोविन्द शर्मा सभापतिमा निर्वाचित भएका छन् ।

हुम्लाका सात वटा स्थानीय तहमध्य ६ ओटामा देउवा पक्षले नेतृत्व हात पारेको छ । एउटा पालिकाको नेतृत्वमा पौडेल पक्षका नेता आएका छन् ।

देउवा पक्षबाट सिमकोटमा धर्मराज रोकाय, खार्पुनाथमा टेकबहादुर शाही, ताँजाकोटमा कृष्णबहादुर मल्ल, अदानचुलीमा विष्णु भण्डारी, चंखेलीमा नरबहादुर भण्डारी र नाम्खामा सोनम लामा सभापति चयन भएका छन् । यस्तै सर्केगाड गाउँपालिकामा पौडेल पक्षका धनराज शाही ७० मतसहित सभापतिमा चयन भएका छन् । उनका प्रतिद्वन्दी देउवा पक्षका बल खत्रीले ६३ मत प्राप्त गरेका छन् ।

मुगुमा चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ । छाँयानाथ रारा नगरपालिकामा भने मतदान गरिएको जिल्ला सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।

सर्वसम्मतिबाट नेतृत्व चयन गरिएका सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकामा देउवा पक्षीय सभापति चएन भएका छन् । सोरुमा कुवेरजंग शाही, खत्याडमा लोकराज दाहाल र मुगुमकार्मारोङमा गारा तामाङ निर्विरोध सभापति पदमा निर्वाचित भएका हुन् । छायानाथ रारा नगरपालिकामा भने पौडेल पक्षीय सभापति चएन भएका छन् ।

रुकुमपश्चिममा जिल्ला सदरमुकाम मुसीकोटबाहेक सबै पालिकामा सहमतिमा नेतृत्व चयन गरिएको जिल्ला उपसभापति धिरेन्द्रकुमार बटालाले जानकारी दिए । ६ वटा स्थानीय तह भएको रुकुमपश्चिममा संस्थापन पक्षभन्दा पौडेल पक्ष बलियो देखिएको छ ।

सहमति गरिएका पाँचवटा पालिकाहरु चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली, आठबीसकोट नगरपालिकामा अमृत बोहरा, बाँफिकोट गाउँपालिकामा जनककुमार बाँठा, त्रिवेणीमा गाउँपालिकामा दीपेन्द्र वली र सानीभेरी गाउँपालिकामा सन्तोष रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनिहरु सबै पौडेल पक्षका हुन् ।

मुसीकोटमा भने सहमति नजुट्दा चुनाव गर्नुपरेको थियो । मुसीकोट नगर सभापतिमा समिरजंग मल्ललाई पराजित गर्दै देउवा पक्षका प्रेम वली विजयी भएका छन् । कुल खसेको २३७ मतमध्ये वली १६० मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी मल्लले भने ६६ मत मात्र प्राप्त गरेका थिए ।

प्रदेशका १० जिल्लामध्ये सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता विवादका कारण १७ पालिकामा अधिवेशन अनिश्चित बनेको छ । ‘केन्द्रले क्रियाशील सदस्यहरुको नामावली भखरै सार्वजानिक गरेको छ, अवको एक/दुई दिनभित्र अधिवेशन हुन सक्छ,’ कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले भने ।